सर्वोत्तम सिमेन्टको सेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम मौका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पहिलो पटक सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत निष्काशन गरेको सेयरमा बोलपत्र पेश गर्ने आज अर्थात मंसिर १० गते अन्तिम दिन रहेको छ ।

कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्कासन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेय बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो।

जसमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो। बोलकबोलका लागि सुरुमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म बिक्री मूल्य तोकिएकामा उक्त मूल्य परिमार्जन भएर प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ ।

कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनु पर्नेछ।

शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।