हाते पम्पबाट आउने खाने पानीमा आर्सेनिकको समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके । बाँकेमा हाते पम्पबाट आउने खाने पानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले केही समयअघि गरेको परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गोपाल रेग्मीले जानकारी दिए ।

उनका अनुसार बाँकेको डुडुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा बढी आर्सेनिक देखिएको हो । जिल्लाका केही स्थानका खाने पानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको रेग्मीले बताए ।

‘खाने पानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिने र चुनको मात्रा बढी हुँदा खाने पानीको पाइपसमेत जाम हुनसक्छ’, रेग्मीले भने, ‘कोहलपुरमा खाने पानीमा क्याल्सियमको मात्रा बढी देखिएको छ ।’

पानी परीक्षणका क्रममा केही स्थानका खाने पानीमा कोलिफर्मको मात्रा पनि देखिएको भन्दै शौचालय, गाईगोठ नजिक रहेका हाते पम्पबाट आउने खानेपानीमा कोलिफर्म देखिएका प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाले स्थलगत रुपमा खानेपानीका नमूना संकलन गरी परीक्षण गरिरहेको जनाएको छ । हुम्ला, जुम्ला, डोल्पा र जाजरकोट क्षेत्रका खानेपानीको नमूना संकलन गरी प्रयोगशालाले गुणस्तर परीक्षण गर्दै आएको रेग्मीले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी, खानेपानी उपभोक्ता समिति, गैरसरकारी संस्थालगायतले संकलन गरी ल्याएका नमूना पनि परीक्षण गर्ने गरिएको उनको भनाइ थियो । खाने पानीको गुणस्तर परीक्षणका लागि विभिन्न सीमा तयार गरी पानीमा हुने अमिलो वा टर्रोपना, विद्युतीय संवाहक, पानीको घुलित अवस्था, अमोनियालगायतका विषयको परीक्षण हुने गरेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।