कास्की । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा आजदेखि ‘एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिता सुरु भएको छ ।
पोखरा महानगरपालिका-१३ स्थित आर्बा/विजयडाँडामा आगामी मंसिर ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित ११ देशका ५५ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन । सहभागी खेलाडीमा पाँच जना महिला छन ।
साहसिक खेल पर्यटनका लागि प्रख्यात पोखरामा प्रतियोगिताबाट विश्वभरका साहसिक माउन्टेन बाइकप्रेमीलाई आकर्षित गर्ने विश्वास लिइएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा प्रतियोगिता समुद्री सतहबाट एक हजार तीन सय ६० मिटर उचाइमा रहेको आर्वा/विजयडाँडामा सुरु भएको हो ।
प्रतियोगिताका लागि पाँच वटा रुट तय गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिंगापुरका खेलाडी वेलसोन लोलाई नम्बर प्लेट दियर प्रतियोगिताको उद्घाटन गरे ।
इलिट पुरुषतर्फ जुनियर-१२/१८ वर्ष), मास्टर्स ‘क’ (३०/३९ वर्ष), मास्टर्स ‘ख’ (४०/४९ वर्ष), भेट्रान-५० वर्ष माथि), महिला ओपन तथा इ-बाइक गरी सात विधामा प्रतिस्पर्धा सञ्चालन गरिने प्रतियोगिताका निर्देशक सुनिलचन्द्र शर्माले जानकारी दिए ।
प्रतियोगिताको इलिट पुरुषतर्फको विजेताले नगद ५० हजार उपविजेतालाई ३० हजार र तृतीय हुनेलाई २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिलातर्फ सोही इभेण्टमा विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तृतीय हुनेलाई १५ हजार पुरस्का प्रदान गरिने आयोजकले जनाएको छ ।
Comment