काठमाडौं । रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ।
मुद्दाको समूह अर्थात् गोलामा नपरेकाले चौधरीको सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार चौधरीसहित अन्य तीन जनाको मुद्दा उक्त समूहमा नपरेका कारण स्थगित भएको हो।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसर पारेर बाँकी कैद सजाय माफी गरिदिएपछि चौधरी जेलमुक्त भएका थिए।
चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध गत जेठ १६ गते परेको रिटमा राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन आदेशको माग गरिएको छ। टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद्, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाइएको छ।
Comment