आज विश्व पक्षघात दिवस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ । विश्व पक्षघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।  ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय पाउन सकिन्छ’ भन्ने नाराका आइतबार यो दिवस मनाउन लागिएको हो।

प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षघात दिवस मनाइन्छ। एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ। मस्तिष्कमा अक्सिजन तथा पोषक तत्त्व कम भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ। यसलाई नै पक्षघात भनिन्छ।

समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ। सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षघातका लक्षण हुन्। नेपाल पक्षघात संघका अध्यक्ष डा. राजु पौडेल विश्वभर बर्सेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षघात हुने गरेको बताउँछन्। हरेक ६ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षघात हुने गरेको छ।

‘विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेण्डमा एक जनालाई पक्षघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ’, उनी भन्छन्। नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा उनी जोड दिन्छन्।

नेपालमा अहिले पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ। डा.पौडेलका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबडी हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ।

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लर्बराउनु, हातखुट्टा लुलो हुनु पक्षघातका लक्षण हुन्। यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव हुने डा. पौडेल बताउँछन्।

पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ। नेपालमा भौगोलिक विकटता, सीमित स्रोत साधन र दक्ष जनशक्तिको अभावका कारण पक्षघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।