काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पछिल्लोसमय देखिएका चुनौती सामाना गर्न सबैले हातेमालो गर्नु पर्ने आवश्यकता औंल्याएका छन् ।
शनिबार नेपाली काङ्ग्रेसले पार्टी मुख्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष नेपालले फरक दर्शन र विचार भएपनि राष्ट्रिय मुद्दाका सवालमा सबै पार्टी एक भएर अघि बढ्ने नेपाली विशेषता भएको बताएका हुन् ।
‘हाम्रो देशको विशेषता भनेको भिन्न भिन्न प्रकारको दर्शन भएपनि हामी सहकार्य गरेर अगाडि बढेका छौँ । देशलाई अगाडि बढाउने विषयमा, जनाताका समस्या सरोकार राख्ने विषयमा हामी हातेमालो गर्दै अगाडि बढिरहेका छौँ ।’ उनले भने, ‘त्यसो हुनाले नेपाली काङ्ग्रेस, कम्युनिष्ट पार्टीहरु, विभिन्न राजनीतिक दलहरुले आयोजना गरेको यस्तो सामाजिक समारोहहरुमा उपस्थित हुनु स्वभाविक र आवश्यक पनि हो ।’
त्यस्तै अध्यक्ष नेपालले जसरी विगतमा अप्ठ्यारो, संकट र चुनौतीको समयमा हातेमालो गर्दै अगाडि बढेको राजनीतिक इतिहासलाई स्मरण गर्दै भने ‘त्यसैगरी आजको चुनौती र अवसरहरु सबैमा हातेमालो गर्दै अगाडि बढ्नु पर्छ । समाजमा सकारात्मक सूचना दिनु पर्छ।’
उनले संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणका समयमा नेपालले सकरात्मक सन्देश दिन सक्नु पर्ने बताए । उनले भने ‘अब संक्रमणकालिन न्यायको प्रक्रियालाई छिटो टुङ्गाउँने कुरामा ढिलाई भएको थियो, अब धेरै ढिला गर्नु हुदैँन् । संयुक्त राष्ट्रमहासंघको महासचिव आएको अवस्थामा सकारात्मक सन्देश दिएर काम गर्नुपर्छ ।’

Comment