चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ ।
भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ ।
त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ । ‘घर बनेपछि यो कोठामा विपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरीदेवीले भनिन् ।
उनका श्रीमान स्व.श्यामकृष्ण प्रधानसँग विपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो ।
विसं २००६ मा बन्दीपुरमा प्रधानको विपीसँग चिनजान भएपछि उक्त सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो । गौरीदेवीले भनिन्, ‘अरु नेता आउँदा पनि विपीको कोठामा कसैलाई पनि बस्न दिइएन ।’
कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनले बताइन् ।
‘घर बनेदेखि विपी यही घरमा बस्नुभएको हो’, गौरीदेवीले भनिन् । छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा विपी बस्ने गरेका थिए ।
रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो । गौरीदेवीले भनिन्, ‘विपीबाबुले गिरिजाबाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ । ‘गिरिजा चिन्यौँ, घरको परिवार जस्तै हो, जहिले पनि यही आएर बस्नु है ।’
गौरीदेवीको मामाको छोरा धर्मभक्त माथेमालाई राणा शासकले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि विपीप्रतिको श्रद्धा बढी भएको हो ।
‘विपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गथ्र्यो । कहिले के हुन्छ, थाहा हुँदैनथ्यो’, त्यतिबेलाको सम्झना गर्दै उनले भनिन्, ‘यही घरमा बसेर विपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो ।’
विपी कतिपटक घरमा आए गौरीदेवीलाई यकिन सम्झना छैन । विपीले सादा खाना रुचाउने गरेको गौरीदेवीले बताइन् ।
उनले भनिन्, ‘माछा मासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना नै खानुहुन्थ्यो । मैले सोध्ने गर्थेँ, विपीबाबु के खाने ? तपाईँले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो ।’
विपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ । जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न विपी यही घरमा आउने गरेको गौरीदेवीले स्मरण गरिन् ।
‘साँझ विपी भन्नुहुन्थ्यो, जहाँ घुमे पनि आफ्नै घर जस्तो लागेर यही आउन मन लाग्छ ।’ उनले भनिन् । थोरै खाने र चिटिक्क परेर हिँड्ने विपीको बानी थियो ।
गौरीदेवीले भनिन्, ‘मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेउ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिँड्नुहुन्थ्यो ।’
तनहुँ र चितवनमा महिला संघको स्थापना गरेकी प्रधानले विपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक संकलनसमेत गरिन् ।
उनले भनिन्, क्मैले बजार घुमेर आर्थिक संकलन गरेँ, म आफूले त दिने नै भएँ, अरुले पनि दिए ।’ विपीसँगै कांग्रेसका शीर्षनेताको बस्ने थलो यही घर हो ।
पछिल्ला वर्षमा नेताहरू यो घरमा त्यति पुग्दैनन् । विपीको देहवसानपछि देश उँभो लाग्न नसकेको गौरीदेवीको भनाइ छ ।
उनले भनिन्, ‘कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन । विपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे । विपीजस्तो नेता न कांग्रेसले न देशले नै जन्मायो ।’
गौरीदेवीका ससुरा लालप्रसाद खरदारको जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ ।
गौरीदेवीलाई विपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बिपीको झल्को आउँछ । राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर उनी जाने गरेको स्मरण गौरीदेवीलाई अहिले पनि ताजै छ ।
गौरीदेवीका कान्छा छोरा सुवोधलाई बाल मानसपटलदेखि विपीको स्मरण ताजा छ । विपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले गाडीमा विपीसँग राखेर गाउँ डुलाएको उनले सम्झन छन ।
गाडी पछिपछि नेविसंघका विद्यार्थी हुने भए पनि उनलाई के हुन्छ भर थिएन । ठाउँ-ठाउँमा प्रहरीले रोकेर सोधपुछ गथ्र्यो ।
बाह्र/तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै सुवोधले भने, ‘विपी हाम्रो परिवारको सदस्य जस्तै हुनुहुन्थ्यो । उहाँको निधन हुँदा मेरो दाई सुवासले कपाल खौरिनुभएको थियो ।’
आफ्नो घरमा विपी आउँदा घरवरिपरि खाकी बर्दी लगाएर प्रहरीले घेरेको स्मरण उनलाई ताजै छ । सुवोधले भने, ‘म घरको कौशीमा लुकेर खाकी बर्दी लगाएका प्रहरी हेर्थेँ ।’ सबैले विपीलाई निकै मान्ने आफूले पाएको उनले बताए ।
Comment