काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ४.०५ अंकले घटेको हो । यसदिन परिसूचक१९०३.८४ को विन्दुमा आएको छ । मंगलबार १३ अंकले बढेको नेप्सेमा बुधबार ४३ अंकले बढेको थियो ।
पछिल्ला दुई दिनमै ५६ अंकले बढेको नेप्से फेरि ओरालो लागेको छ । आज २८४ कम्पनीको ३७ लाख कित्ता बढी सेयर ९७ करोड रुपैयाँमा कारोबार भएको छ । यसदिन सबैभन्दा धेरै नबिल बैंकको संस्थापक सेयर ५ करोड ९० लाख रुपैयाँ बराबरको किनबेच भएको छ । प्रभु बैंकको पनि ५ करोड रुपैयाँ बढीकै संस्थापक सेयर किनबेच भएको छ ।
यसदिन सिटिजन म्युचअल फन्डको सेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले बढेको छ । दोस्रोमा वीपीडब्लु लघुवित्तको ४.७६, सानिमा जिआइसीको ४.३३ र सेन्चुरी डिबेन्चरको मूल्य ४ प्रतिशतले बढेको छ ।
सामान्य अंकले घटेको बजारमा सबैभन्दा धेरै अपरसोलु हाइड्रोइलेक्ट्रिसिटिका लगानीकर्ताले ८.२५ प्रतिशतले गुमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.७३ प्रतिशतले गुमाएका छन् । आशा लघुवित्तको ६.६ र सयपत्रि हाइड्रोपावरको सेयर मूल्यमा ५.२२ प्रतिशतले गिरावट आएको छ ।
Comment