उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछन्। 

चीनले आयोजना गर्न लागेको ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा  सहभागी हुन् मध्यान्ह १२ बजेर १० मिनेटमा मन्त्री श्रेष्ठ चीन जान लागेको हुन्।

बिआरआईसम्बन्धी कार्यक्रम कात्तिक १ र २ मा हुँदै छ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दै छन् । उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार चिनियाँ राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुने मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए। 

चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ जान लागेका हुन् । 

श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, स्वकीय सचिवद्वय सुरेशकाजी श्रेष्ठ र सुमन आचार्य रहनेछन् ।

कात्तिक १ मा कार्यक्रमको उद्घाटन सत्र हुँदै छ। उपप्रधानमन्त्री श्रेष्ठ सोही दिन आयोजित ग्रिन डेभलपमेन्ट हाई लेभल फोरम अफ बिआरआई समिट कार्यक्रमका मुख्य वक्ताका रूपमा सहभागी हुनेछन्। उपप्रधानमन्त्री श्रेष्ठले २ कात्तिकमा  चीनको आपतकालीन व्यवस्थापन मामिलामन्त्री वाङ सियाङचीसँग भेटवार्ता गर्नेछन् । 

दुई देशबीच विपत् व्यवस्थापनमा गर्न सकिने सहकार्यका विषयमा छलफल हुनेछ । यसैगरी, उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियाङचाउसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । 

चिनियाँ राष्ट्रपतिले बिआरआई अवधारणा अघि सारेको एक–दशकका अवसरमा कार्यक्रम हुन लागेको हो । चिनियाँ विदेश मन्त्रालयका अनुसार हालसम्म विश्वका १५० मुलुक र ३० वटा अन्तर्राष्ट्रिय संस्थाहरूले बिआरआईमा हस्ताक्षर गरिसकेका छन् ।  नेपालले सन् २०१७ मेमा बिआरआईको फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर गरेको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।