पन्ध्र करोड लगानीमा टोखा नगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टोखा नगरपालिकाको  नयाँ प्रशासकीय भवनको  निर्माण सम्पन्न भएको छ । टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौंको १५ करोड ३८ लाख १५ हजार लागतमा सो भवन बनेको हो ।

नव निर्मित सो भवनको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र टोखा नगरपालिकाका प्रमुख प्रकश अधिकारीले संयुक्तरुपमा आइतबार शुभारम्भ गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बुढाथोकीले नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सेवा लिन सहज हुने उल्लेख गरे ।

उनले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि यहाँका नगरवासीले विकासको अनुभूति गर्न पाएका छन्, अब भवनको अभाव छैन, संस्थागत विकास र कर्मचारीको क्षमता अभिवृद्धि गर्दै थप सहज र छिटोछरितो सेवा प्रवाह गर्न आग्रह गर्दछु ।’

टोखा नगर प्रमुख अधिकारीले टोखाको विकासका लागि नगरपालिका लागेको जनाउँदै सबैले साथ र सहयोग गर्न आग्रह गरे । उनले छरिएर रहेको सेवालाई नयाँ भवन निर्माणसँगै एकै ठाउँबाट प्रवाह गरिने बताए ।

विसं २०७६ माघ १२ गते सम्झौता भएर विसं २०७६ फागुन २८ गते शिलान्यास गरी निर्माण सुरु गरिएको उक्त भवन सम्झौताभन्दा ढिलो गरी निर्माण सम्पन्न भएको हो ।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले जग्गा, स्रोत साधनका अभावका कारण समयमै निर्माण सम्पन्न गर्न कठिन भएको जानकारी दिए ।

विसं २०७८ मा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको उक्त भवन दुई वर्ष ढिला गरी विस २०८० असार २५ गते सम्पन्न भएको थियो । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।