इजरायलबाट फर्किए २५४ नेपाली विद्यार्थी (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । इजरायलबाट २५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल वायुसेवा निगमको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो।

नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५०३ मध्ये २५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिटै ल्याउने जानकारी दिए। 

‘इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्किन चाहने नेपालीलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ’, उनले भने, ‘५०३ जनाले नेपाल फर्कन अनुरोध गरेकोमा २५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ।’

परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए। चार नेपाली  घाइते भएकोमा एकजना उपचारपछि सँगै स्वदेश फर्किएको,  एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेको उनले बताए। ‘आक्रमणमा परी  सम्पर्कविहीन विपीन जोशीको खोजी निरन्तर जारी छ’, उनले भने, ‘ थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउने छौँ।’

इजरायलमाथि हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनाको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले बताए। कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको सङ्ख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको मन्त्री साउदले बताए। 

हाल तेल अभिवबाट नियमितरुपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले योपटक छुटेकालाई सरकारले नेपाल फर्काउन व्यवस्था गर्ने उनको भनाइ छ। 

उद्धार गरी नेपाल ल्याइएका नागरिकलाई गन्तव्यमा पुर्‍याउन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा बसतयारी अवस्थामा राखिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।