‘सरकारले जग्गा उपलब्ध गराए महानगरले रंगशाला बनाउन पहल गर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल–भारतको खेल प्रत्यक्ष हेरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफूले गरेका अनुभव बाँडेका छन्।

श्रीलंका पुगेका काठमाडौं महानगरका मेयर बालेन शाहले क्रिकेट रंगशाला बनाउन महानगर तयार भएको बताए । सरकारले महानगरभित्र वा आसपास १ सय रोपनी जग्गा उपलब्ध गराए महानगरले रंगशाला निर्माण गर्ने बताएका हुन् ।

त्यहाँ श्रीलंकाको अध्यागमन नै चकित पर्ने गरी विभिन्न देशबाट क्रिकेटप्रेमी नेपाली ओइरिएको उल्लेख गरेका छन्।

उनको अनुभव उनकै शब्दमा–

फ्यानको रूपमा क्रिकेट हेर्न श्रीलंका पुग्दा श्रीलंकाको अध्यागमन (Immigration) को कर्मचारीको प्रश्न थियो- ‘यति धेरै नेपालीहरू एक्कासि श्रीलंका किन आइरहेका छन्?’ श्रीलंकाको अध्यागमन चकित पर्नेगरीको संख्यामा नेपालीहरू त्यहाँ पुग्दै थिए।

त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०/५० जनाजति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको संख्या १५०० देखि २००० को बीचमा थियो। नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलंका पुगेका थिए। अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड पुग्यो होला।

टीभीमा देखिने विराट, रोहितहरूलाई आँखाअगाडि मैदानमा देख्न पाएका थियौँ। उनीहरूको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो। खेलको सुरुमा उनीहरूको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भएजस्तो देखिन्थ्यो। विश्वकै उत्कृष्ट खेलाडिहरूमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वाभाविक पनि थिएन। तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरूको हाउभाउ पूरै रक्षात्मक बनिसकेको थियो। ठीक त्यही बेला हामीले क्रिकेट जित्यौँ। अन्तिम नतिजा जे आए पनि हामीले यसपटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ।

गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियमजस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा। नेपालमा त्यही स्तरको रंगशाला जग्गाबाहेक ८०/९० करोडमा नै बन्छ सायद।

यसैले नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ। यस्तो मात्रै रंगशाला र केहि ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुनसक्छ। त्यो बाहेक खेलाडी र तल्लोतह (Grassroot) मा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुनेगरी बलिङ नेट (Bowling Net) राख्ने प्रबन्ध पहिले नै गरिसकेको छौँ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।