काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचित भएको ८ महिना भइसक्यो । संसदीय दलको चुनावमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा भएको थियो ।
संसदीय दलको चुनावमा ६० प्रतिशतभन्दा बढ्ता मत ल्याएर सभापति देउवा निर्वाचित भएका थिए । तर त्यही ६० प्रतिशत मत ल्याउने सभापति तथा संसदीय दलको नेताले उपनेता भने चयन गर्न सकेका छैनन् ।
संसदीय दलको नेताले उपनेता चयन गर्ने व्यवस्था रहेको छ । दलको नेता देउवाले अहिलेसम्म उपनेता चयन गर्न नसक्नुमा देउवाको ढिलासुस्ती गर्ने शैलीमात्र होइन, रणनीतिक चालबाजी पनि हो भन्न थालिएको छ ।
देउवानिकट एक केन्द्रीय नेताको भनाइमा उपनेताको दाबेदारको संख्या धेरै भएका कारण पनि देउवा उपनेता चयन गर्न अफठ्यारोमा परेका हुन् । कांग्रेस नेताको भनाइमा अहिले उपनेताका लागि उपसभापति तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र शंशाक कोइरालाले आश गरिररहेका छन् ।
त्यसो त कतिपयले शेखर कोइराला पनि संसदीय दलको उपनेता हुनसक्ने बताइरहेका छन् । तर, केही दिन पहिलासम्म देउवानिकट देखिन खोजेका शेखर पछिल्ला दिनमा टाढिन खोजेको देखिन्छ ।
केन्द्रीय कमिटी बैठकमा पनि शेखरको देउवासँग लाइन मिलेको थियो । त्यसैले शेखर समूहका नेताहरूले उनलाई लाइन प्रष्ट पार्न पनि भनेका थिए । शेखरले अहिले संस्थापन इतर समूहमै रहेको बताइरहेका छन् ।
Comment