खम्बा गाडेको पाँच वर्षसम्म पनि बलेन बिजुली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा । सुनछहरी गाउँपालिका-२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैनन् । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निरास भएका छन ।

‘वडा नं-२ का करिब चार सय घरधुरीमा विद्युत् विस्तार गर्ने योजनानुसार पाँच वर्षअघिदेखि काम थालनी भए पनि अहिलेसम्म बिजुली बाल्न पाएका छैनौँ’, स्थानीय अमन बुढामगरले भने, ‘खम्बा गाडेर तार झुन्ड्याएको छ, सुरु–सुरुमा विद्युत् आउने आशा लाग्थ्यो, अब आशा पनि मर्न लागिसक्यो ।’

झिम्रुक जलविद्युत् आयोजनाअन्तर्गत केन्द्रीय प्रसारण लाइनबाट उक्त लाइन विस्तार गर्न लागिएको हो । विद्युत् विस्तारको जिम्मा लिएको मुख्य निर्माण कम्पनीले साना-साना निर्माण व्यवसायीलाई काम दिँदा योजना निर्माणमा ढिलाइ भएको स्थानीयको भनाइ छ ।

पेटीमा काम दिँदा समयमै विद्युत् विस्तार हुन नसकेको स्थानीय मनपती विकले बताए । जनआवाज प्राथमिक विद्यालय झेल्कुङका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकका अनुसार विद्युत् नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

‘हुनेखानेको घरमा सोलार छ, त्यसैको उज्यालोले काम चल्छ, गरिब विपन्नको घर सधैँ अन्धकार हुन्छ’, विकले भने, ‘सोलारले पनि कहिले काम गर्ने कहिले नगर्ने समस्या भइरहन्छ।’

भित्रीगाम रोल्पाको सबैभन्दा दुर्गम वडा हो । जिल्ला सदरमुकाम लिवाङबाट २८ कोश टाढा रहेको उक्त वडामा सुनछहरी गाउँपालिको केन्द्र पोवाङबाट समेत एक दिनको पैदलयात्रा गर्नुपर्छ ।

जिल्लाका अधिकांश वडा कार्यालयसम्म सडक सञ्जाल जोडिए पनि सो वडामा अझैसम्म सडक सञ्जाल जोडिएको छैन । विद्युत्, सडकमात्रै होइन उक्त वडा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत र अत्यावश्यक सेवाबाट समेत टाढा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।