साउन १ देखि महानगरका सार्वजनिक स्थानमा धूमपान र मद्यपान निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । आगामी साउन १ गतेदेखि काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानमा धूमपान र मद्यपान गर्न नपाइने भएको छ  

पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने र यसलाई क्रमिकरूपमा ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको महानगरले जनाएको छ। यो अभियान महानगर र बानेश्वर व्यापार संघले संयुक्तरूपमा गर्न लागेका हुन्। 

संघका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै सुरु गरेको हुनाले धूमपान र मद्यपान निषेधको काम पनि यही स्थानबाट शुरु गर्ने तयारी गरिएको हो । आजदेखि आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले बताए। 

सार्वजनिक स्थानमा धूमपान र मद्यपान गर्दा अरुलाई पनि असर गर्ने हुँदा यो अभियान शुरु गर्न लागिएको हो।  धूमपान र मद्यपान गर्नेका लागि केही निश्चित स्थान तय गरिने बताइएको छ।   

एक वर्षअघि पनि महानगरले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो तर त्यसको सकारात्मक प्रभावकारिता नभएको भन्दै कडाइका साथ कार्यान्वयन गर्ने गरी पुनः शुरु गर्न लागिएको बताइएको छ। 

सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनुपरेको छ। क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै कारण हुने गरेको बताइएको छ।  

नेपालमा हरेक वर्ष २० देखि ३० हजार मानिसलाई विभिन्न प्रकारका क्यान्सर हुने गरेको पनि बताइएको छ। नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।