कान्तिपुर टिभीले हटायो पल शाहको ‘ह्वाट द फ्लप’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ। कान्तिपुर टेलिभिजनले पाठक र दर्शकहरुको व्यापक जनगुनासोपछि पल शाहलाई अतिथि बनाइएको ‘ह्वाट द फ्लप’को इपिसोड युट्युबबाट हटाएको छ।

नाबालिग बलात्कारको आरोपमा जेलसजाय भोगेका पल शाहले आफ्नो जेलजीवनबारे गरेका ठट्टा र त्यसमा कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीको अट्टहासपूर्ण हाँसो र मजाकको स्रोता तथा दर्शकहरुले सामाजिक सञ्जालमा व्यापक आलोचना गरेका थिए।

नाबालिग बलात्कारको मुद्दालाई कान्तिपुर टेलिभिजनले मजाकको विषय बनाएको भन्दै व्यापक आलोचना भएपछि कान्तिपुर टेलिभिजनले प्रसारणको करिब २४ घन्टापछि सोमबार बेलुका उक्त इपिसोड युट्युबबाट हटाएको हो।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाले यस विषयलाई गम्भीरतापूर्वक लिने बताएपनि सामाजिक सञ्जालमा कन्टेन्ट नै हटाउनुपर्ने भन्दै दबाब बढेको थियो।

दबाब थेग्न नसकी कान्तिपुर टेलिभिजनले ६ लाख भन्दा बढीले हेरिसकेको उक्त कन्टेन्ट युट्युबबाट हटाउँदै महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धतासाथै एजेन्डा पनि भएको उल्लेख गरेको छ।

कान्तिपुरले भनेको छ: गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजन सम्मान गर्दछ । महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धता साथै एजेन्डा पनि हो । त्यसैले सो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।