काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। आठौंपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको निर्णय अनुसार साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेका हुन्।
उनलाई आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको स्रोतले बताएको छ।
वैशाखको तेस्रो साताभित्रै भारत भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री नियुक्तिको तयारी थालेका हुन्। नेपाली कांग्रेस संस्थापन पक्षका एक नेताले जानकारी दिएअनुसार दाहाल नेतृत्वको यस मन्त्रिपरिषद्मा कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाउनको लागि नाम पठाइएको छ। गत पुस १० मा प्रधानमन्त्री बनेका दाहालले दोस्रो पटक बनेको मन्त्रिपरिषद्लाई पूर्णता भने अझै दिन सकेका छैनन्।
गठबन्धन दलबीचको भागबन्डामा परराष्ट्रमन्त्री नेपाली कांग्रेसको भागमा परेको थियो। शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार विस्तारका लागि छलफल गरेका थिए। छलफलकै क्रममा परराष्ट्रमन्त्रीका लागि नाम पठाउन कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीले आग्रह गरेका थिए।
देउवाले परराष्ट्रमन्त्रीका लागि शनिबारै साउदको नाम पठाएका हुन्। साउद सुदूरपश्चिम प्रदेशको कञ्चनपुरबाट प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्।
परराष्ट्रमन्त्री नियुक्त गर्दा पनि प्रधानमन्त्रीसँग स्वास्थ्य, कानुन, वन, खेलकुद र खानेपानी मन्त्रालयको जिम्मेवारी बाँकी रहने छ। बाँकी मन्त्रीको टुंगो भने वैशाख १० गतेको उपनिर्वाचनपछि मात्रै हुने गठबन्धनका नेताहरुले बताएका छन्।
प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा भने आएको छैन। तर उनलाई समकक्षी नरेन्द्र मोदीले अनौपचारिक निमन्त्रणा भने गरिसकेका छन्।
प्रधानमन्त्रीको भारत भ्रमणअघि नै परराष्ट्रमन्त्री नियुक्ति गर्नुपर्ने भएकाले मन्त्री बनाउने तयारी भइरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बताए

Comment