‘सके सदनबाट नसके सडकबाट भएपनि नेपाललाई हिन्दुराष्ट्र बनाउँछौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र कायम गराउन सबै नागरिक एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

बुटवलमा मंगलबारदेखि सुरु भएको विश्व हिन्दु महासंघ नेपालको महासभा तथा आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सके सदनबाट नसके सडकबाट भएपनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने दावी गरेका छन् ।

राजनीतिक निर्णयबाटै नेपाललाई धर्मनिरपेक्षता घोषणा गरिएको बताउँदै उनले यस्तै निर्णयबाटै नेपाललाई फेरि हिन्दुराष्ट्र कायम गर्न सकिने बताए । ’जनताले विश्वास गरे दुईतिहाई बहुमत ल्याएर हिन्दुराष्ट्र कायम गर्ने र जनताले हतार गरे काठमाडौं घेरेर भए पनि हिन्दुराष्ट्र कायम गराएरै छाड्ने छौं’, उनले भने ।

नेता लिङदेनले विश्व हिन्दु महासंघले नेपाललाई हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्दैमा नहुने बताउँदै राप्रपालाई साथ दिएर अघि बढ्नको लागि आग्रह गरेका थिए ।

‘धर्मनिरपेक्षता राज्य बनाउने प्रस्ताबक र समर्थकलाई भोट दिएर नेपालमा हिन्दुराष्ट्र कायम हुन्छ त ? हुँदैन भने सबै पार्टीभन्दा माथि उठेर एकपटक नेपाललाई हिन्दुराष्ट्र बनाउन सबै एकठाउँमा आउनुस्’ उनको भनाइ छ ।

‘नेपाललाई हिन्दु राष्ट्र बनाएपछि बरु हामी कांग्रेस एमाले माओबादी जे जे बन्ने हो बनौँला अहिलेलाइ सबै एक ठाँउमा आउँ र देशका लागि लडौँ’, उनले थपे, ’धर्मनिरपेक्षता राज्य बनाउने प्रस्तावक र समर्थकलाई भोट दिएर नेपालमा हिन्दुराष्ट्र कायम हुँदैन, हिन्दुराष्ट्रको वकालत गर्ने एकमात्र पार्टी राप्रपालाई साथ दिनुहोस्, हामी प्रतिवद्धताका साथ त्यो माग पूरा गर्नेछौं । ’

दुई दिनसम्म चल्ने महाधिवेशनमा देवघाट धामका संरक्षक एवं सन्त समाजका अध्यक्ष अनन्त श्री बिभुषित ज्ञानानन्द सरस्वतीले हिन्दु राष्ट्र बनाउन सबै जुट्नुपर्ने उल्लेख गरे । उनले सनातन हिन्दुधर्मको रक्षा र राष्ट्रको रक्षा नै धर्म भएको बताए ।

विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा रामचन्द्र अधिकारीले नेपाललाई हिन्दुराज्य कायम गर्नु नै महासंघको मुख्य उद्देश्य रहेको बताए । राष्ट्रको रक्षाको लागि नेपाललाई हिन्दुराज्य कायम, बेद शिक्षालाई पाठ्यक्रममा समावेश, आयुर्वेद शिक्षामा जोड र भ्रष्टाचार रोक्नको लागि महासंघ लागिपरेको उनको भनाइ छ ।

कार्यक्रममा विवेकानन्द सरस्वती,पूर्वमन्त्री धु्रवबहादुर प्रधान, पूर्वमन्त्री दिपकुमार उपाध्याय,पूर्व सांसद शंकरप्रसाद पाण्डे ,नयाँगाउँ मुक्तिनाथधामका संरक्षक स्वामी लोकानन्द,दिनबन्धु पोखरेल, लुम्बिनी प्रदेश उपसभामुख मेनका खांण, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सन्त किशोरकुमार गौतम, डा दिपकप्रसाद बास्कोटा, विश्व हिन्दु महासंघ नेपाल रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ ,अरुणकुमार श्रेष्ठ लगायतले बोल्दै नेपाललाई हिन्दुराष्ट्र बनाउनु नै अबको लक्ष्य हुनुपर्ने बताएका थिए ।

७७ जिल्लाका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको महाधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्ने छ भने घोषणापत्रसमेत जारी गर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।