काठमाडौं । भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन्।
उनले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव क्वात्रा बिहान १०:३० बजे काठमाडौं उत्रने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन् । सो अवसरमा उनीहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
क्वात्राले भारतीय राजदूतका रूपमा नेपालमा दुई वर्ष बिताएका थिए। गत चैतमा उनी भारतीय विदेश सचिव नियुक्त भएका हुन। उनी सन् १९८८ देखि भारतको कूटनीतिक सेवामा प्रवेश गरेका थिए।

Comment