काठमाडौं । नेपाल मिडिया सोसाइटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनका क्रममा मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पत्रकार सम्मेलनमा लामिछानेले नेपाली आमसञ्चार क्षेत्रप्रति आधारहीन, पूर्वाग्रही र मनगढन्ते आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर घात हो ।’
मिडियाप्रति रविले पोखेको आक्रोशले उनको दलको मिडियाविरोधी रबैया उदाङ्गो पारेको पनि सोसाइटीले जनाएको छ । ‘लामिछानेले दोहारो नागरिकताका कारण पद गुमाएको पीडाको आक्रोश पोख्ने रबैयाले उनको नवोदित दलको मिडियाविरोधी रबैयालाई उदाङ्गो पारेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई झुक्याएर उपप्रधान तथा गृहमन्त्री बनेको व्यक्तिले जनतासमक्ष माफी माग्नुको सट्टा नेपाली मिडियाले आफ्नो पद खोसेको जस्तो आरोप लागउनुले उनको अराजनैतिक मनोदशालाई देखाएको छ ।’



Comment