काठमाडौं । नेपाल आयल निगमले २ वर्षभित्र भारतबाट पाइपलाइनमार्फत पेट्रोल ल्याउने तयारी भइरहेको जनाएको छ ।
निगमको ५२ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा निगमका कार्यकारी निर्देशक उमेश थानीले यस्तो जानकारी गराएका हुन् ।
उनले भने ‘आवश्यक अन्य पूर्वाधारको निर्माण सम्पन्न गरी अबको २ वर्षभित्र पाइपलाइनबाट पेट्रोल समेत ल्याउनका लागि इन्डियन आयल कर्पोरेसनसँग नियमित छलफल तथा प्राविधिक अनुभव आदानप्रदानको कार्यलाई तीव्रता दिइएको छ ।’ हाल भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनमार्फत डिजेल मात्र आयात भइरहेको छ । यसले डिजेलमा निगमको ढुवानी खर्च घटाएको छ ।
यद्यपि पेट्रोल भने ट्यांकरमार्फत भारतका डिपोहरुमार्फत आयात भइरहेको छ । निगमले एलपी ग्यासको ढुवानीका लागि भारतीय आयल कर्पोरेसनको वितरण केन्द्रलाई नेपाली सीमानजिक व्यवस्था गर्न भनेअनुरुप काम अघि बढेको थानीले बताए । भारतको दुर्गापुरबाट समेत ग्यास आयातको व्यवस्था मिलाइएको उनले बताए ।
रुस र युक्रेनबीचको युद्धका कारण गत आर्थिक वर्षमा निगमले ५० अर्ब नोक्सानी ब्यहोर्दा समेत आपूर्ति प्रणालीलाई व्यवस्थापन गर्न सफल रहेको उनले बताए । हाल निगमले भारतीय आयल कर्पोरेसनलाई ११ अर्ब र सरकारलाई ७ अर्ब गरी १८ अर्ब ऋण तिर्न बाँकी रहेको उनले बताए ।
Comment