थप २ आयोजनाको बिजुली भारतमा बेच्न अनुमति, यी हुन् निर्यातका लागि अनुमति पाएका १० आयोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार मंगलबार मात्रै ती आयोजनाको बिजुली निकासीका लागि अनुमति प्राप्त भएको हो । ती आयोजनाको बिजुली समेत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विक्री हुनेछ ।

पछिल्लो विवरण अनुसार काबेली बी एक र तल्लो मोदी जलविद्युत् आयोजनाको बिजुली अब निकासी हुनेछ । तत्काल भने मुलुकभित्रै नै ती आयोजनाको बिजुली खपत हुने छ ।

आगामी जेठदेखि मात्रै ती आयोजनाको बिजुली भारत निर्यात हुनेछ । उनका अनुसार काबेली बी १ को २४.२५ मेगावाट र तल्लो मोदी १९.४ मेगावाट क्षमताको हो । यी आयोजनाको समेत अब कुल ४५२.६ मेगावाट बराबरको बिजुली भारत निकासी हुनेछ ।

यी हुन् निर्यातका लागि अनुमति पाएका १० आयोजना

भारत बिजुली विक्रीका लागि अनुमति पाउने जलविद्युत् आयोजनाको संख्या १० पुगेको छ । यी आयोजनबाट उत्पादित ४५२.६ मेगावाट बिजुली भारत निर्यात गर्न सकिने भएको हो ।

प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट निर्यातका लागि अनुमति पाएका छन् ।

यसैगरी, लिखु–४ बाट उत्पादित ५१ मेगावाट, चिलिमे जलविद्युत्को २२ मेगावाट र २३.५ मेगावाटको सोलुखोला जलविद्युतबाट उत्पादित बिजुली भारतको डे अहेड मार्केट बेच्न सकिने भएको हो ।

त्यस्तै, २३.५ मेगावाटको सोलुखोला जलविद्युत केन्द्र, काबेली बी १ को २४.२५ मेगावाट र तल्लो मोदी १९.४ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएका छन् ।

११ अर्ब बढीको बजुली निर्यात

प्राधिकरणले यही पुस ३ गतेसम्म रु ११ अर्ब १६ करोड ३० लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् नेपाल प्राधिकरणले निर्यात गरेको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले यस अवधिमा विद्युत् बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

सुरुमा दुईवटा जलविद्युत् केन्द्रबाट उत्पादित ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिकरुपमा आइएक्समा विक्री सुरु गरिएको थियो । त्यसपछि गत जेठ २७ देखि छ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा विक्री गरिएको थियो ।

प्राधिकरणले गत कात्तिक १८ र ३० गतेदेखि थप दुई जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत्लाई स्रोतमानी भारततर्फ निर्यात हुने विद्युत्को स्वीकृति क्षमता ४०८ मेगावाट बराबर पुगेको थियो । आज प्राप्त भएको अनुमति थप हो ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत् निर्यात गरी रु दुई अर्ब ८३ करोड ८८ लाख आम्दानी गरेको छ । चालु आव २०७९/८० को तीन पुससम्ममा १ अर्ब ५ करोड ८६ लाख ३४ हजार युनिट विद्युत् निर्यात गरी रु आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार बराबरको रकम आर्जन गरिएको छ ।

आइएक्समा विद्युत् खरिद विक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार हुन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले तीन पुससम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ २२ पैसा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।