काठमाडाैं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अबको सरकारको नेतृत्व पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु पर्ने बताएका छन् । उनले अहिलेको परिवर्तनको हिसाबमा देशको अभिभावक माओवादी भएको र माओवादीले यो जिम्मेवारी लिनु पर्ने बताएका हुन् ।
‘माओवादी अहिले जिम्मेवारीबाट पछाडि हट्नु हुँदैन,’ उनले भनेका छन्, ‘प्रचण्डले अबको सरकारको नेतृत्व गर्नुपर्छ ।’
संवाद डबलीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले दलहरुबीच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने पनि बताएका छन् ।
उनले राष्ट्रिय स्वधिनताको सवाल गम्भीर भएर आएको भन्दै त्यसमा प्रतिवद्धताका आधारमा गुरुङले आफूहरुको सहकार्य हुने बताए ।
विश्वमै कम्युनिस्ट आन्दोलन कमजोर भएको बेला नेपालमा त्यसको प्रभाव चुनावमा पनि देखिएको गुरुङले बताए । उनले आफूहरुले नयाँ परिस्थितिमा पार्टी निर्माण र जनतासँग जोडिने विषयमा कमजोरीका कारण चुनावको परिणाम आएको बताए । पार्टीले चुनावको गम्भीर समिक्षा गरेर अगाडि बढ्ने बताए ।
Comment