काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको बिहीबार विराटनगर–१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहका बीच उद्घाटन गरिन । सो अवसरमा उनले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन यस्ता एक्स्पोले सहयोग पुर्याउने बताइन्। राष्ट्रपति भण्डारीले यस मेलाले उत्पादक र उपभोक्ताबिच अन्तरसम्बन्ध स्थापित गर्ने र उत्पादनहरूको बजार विस्तार गर्ने कार्यमा महत्त्वपूर्ण योगदान गर्नेछ भनिन् ।
उनले एक्स्पोबाट उत्पादनको खरिद बिक्री मात्र नभई उद्यमी व्यवसायीबिच अनुभव र सिकाइको आदान–प्रदान हुनेछ भन्दै छिमेकी मित्र राष्ट्रका उद्यमीहरूबीच पारस्परिक सम्पर्क विस्तार भई कृषि तथा औद्योगिक उत्पादनका सम्भावना खोजी गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन ।
उनले भनिन, “यस औद्योगिक मेलाका माध्यमबाट यस क्षेत्रका पर्यटकीय गन्तव्य, कृषि, हस्तकला र औद्योगिक उत्पादनहरूको प्रवर्द्धनमा विशेष टेवा पुग्ने आशा राखेको छु ।” राष्ट्रपति भण्डारीले विगत तीन वर्षदेखि कोभिड महामारीका कारण शिथिल हुनपुगेको मुलुकको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन यस किसिमका प्रदर्शनीले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन । उनले नेपालको इतिहासमा विराटनगरको विशिष्ट र सम्मानित पहिचान छ भन्दै यस क्षेत्रका उद्यमीहरूले सामाजिक क्षेत्रमा गरेको योगदान सधैँ प्रशंसनीय रहेको छ बताइन् ।
राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन्। प्रदेश नं १ प्रदेश प्रमुख पर्शुराम खापुङले देशको अर्थतन्त्र र औद्योगिक क्षेत्रमा प्रवर्द्धन गर्न एक्स्पोले मद्दत गर्ने बताइन। उनले उद्योग सङ्गठनले औद्योगिक क्षेत्रमा खेलेको भूमिका रचनात्मक र प्रशंसनीय रहेको धारणा राखिन।
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको सक्रियताबिना अर्थतन्त्रलाई बलियो बनाउन नसकिने विचार व्यक्त गरिन । उनले सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकारबाट बञ्चित गराएको गुनासो गर्दै विकास र समृद्धिको सम्भावनाका साथै प्रकृति र संस्कृतिको हिसाबले यो प्रदेश समृद्ध छ उनले भनिन।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उत्पादक र उपभोक्तालाई जोड्ने यस एक्स्पोबाट सबैले लाभ लिने विश्वास व्यक्त गरे। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, विराट एक्स्पोका संयोजक भोलेश्वर दुलाल र उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले विराट एक्स्पोको विविध पक्षमा जानकारी गर्दै ‘मेरो देश मेरै उत्पादन’ लाई सङ्गठनले बढावा दिएको धारणा राखे ।
Comment