काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आदिवासी जनजातिकोे सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त गरी समृद्धि हासिल गर्नुपर्ने बताएका छन् ।
आदिवासी जनजाति आयोगले ललितपुरमा बुधवार आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा उनले खोज, अनुसन्धान, संघर्ष र निरन्तरताबाट सभ्यता र संस्कृतिको जगेर्ना गर्दै सीप, सिर्जनालाई ज्ञान क्षेत्रमा जोडेर समृद्धि हासिल गर्न लाग्नुपर्ने बताए ।
‘सभ्यता, संस्कृति र परम्पराको निरन्तरताबाट ज्ञान प्राप्त हुन्छ । सभ्यतासँग संस्कृति जोडिएको हुन्छ । सभ्यता र संस्कृति नै रहेन भने अस्तित्व रहँदैन,’ मन्त्री पौडेलले भने, ‘समाजमा विभिन्न किसिमका विशेषता हुन्छन्, त्यसलाई हामीले ज्ञान क्षेत्रमा जोड्न सकेनौँ भने सभ्यता र संस्कृतिको संरक्षण र विकास पनि हुन सक्दैन र हामी पनि अगाडि बढ्न सक्दैनौं । विश्वविद्यालयहरूमा यो बहस आवश्यक छ ।’
थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आदिवासी जनजातिको ज्ञानको संरक्षण र संवद्र्धन गर्दै विविधतालाई सम्पत्तिको रूपमा स्वीकार गर्नुपर्ने बताए । ‘नेपालको विविधतालाई हाम्रो सम्पत्तिको रूपमा स्वीकार गरेर जानुपर्छ, यसलाई अहिले गम्भीरतापूर्वक लिइएको छैन,’ अध्यक्ष चौधरीले भने, ‘आदिवासी जनजातिका ज्ञान भाषा, संस्कृतिसँग जोडिएका विषय छन्, अहिले भाषा संरक्षण नै चुनौतीपूर्ण अवस्थामा छन् । हामीले भाषिक विकास र संरक्षणका लागि पाठ्यक्रममा भाषालाई समेट्नुपर्ने आवश्यकता छ ।’
Comment