रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा ।  चिसोको समयभर आगो ताप्ने प्रयोजनका लागि रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज बनाइएको छ। जिल्लाको माथिल्ला  बस्तीमा चिसो बढ्दै गएका कारण कठ्याङ्ग्रिने जनजीवनलाई सहज बनाउन दाउरा सङ्कलनलाई प्राथमिकता दिइएको हो।

जिल्ला विपद् व्यवस्थापनको अनुरोधमा लाङ्टाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उत्तरी हिमाली क्षेत्रका बासिन्दालाई मात्र नियमित दाउरा सङ्कलनको छुट दिएको हो। दाउरा सङ्कलनका लागि  शुल्क नलाग्ने बताइएको छ।

नियमितरूपको दाउरा भने जाडोको समय अर्थात् आगामी फागुन १५ सम्मका लागि मात्र आगो ताप्ने प्रयोजनका लागि सुके, ढलेको तथा बोटमै सुकेका हाँगाबाट दैनिक सङ्कलन गर्न दिने निकुञ्ज तथा वन प्राविधिकले सहमति दिएका हुन्।

दाउरा सङ्कलन गर्न वनजङ्गल पस्दा वन्यवन्तुलाई हाहु गरेर तर्साउने वा मार्ने काम गर्न नपाइने वन प्राविधिकले स्पस्ट पारेका छन्। हरियो खाले कुनै पनि वनस्पति काट्न वा मास्न नपाइने बताउँदै वन क्षेत्रका अधिकारीले तोकिएको भन्दा फरक तरिकाले गैरकानुनी कार्य गरेको पाइएमा नियमानुसार कारबाही हुनेसमेत जनाइएको छ।

निकुञ्जका वन प्राविधिक नितेन्द्र सिंहले स्थानीय उपभोक्ता समितिको सिफारिसका आधारमा प्रत्येक हप्ता–हप्तामा मात्र दाउरा सङ्कलनका लागि उपभोक्ता जङ्गल जान पाउने प्रावधान परिमार्जन गरिएको जानकारी दिए। उनले बढ्दो चिसोपनलाई मध्यनजर राखी जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोध र आफ्ना उपभोक्ताको आवश्यकता परिपूर्ति गर्न प्रतिघर परिवार दैनिक एक/दुई भारी दाउरा सङ्कलनमा छुट गरिएको बताए।

दाउरा सङ्कलनको निहुँमा काँचो वनस्पति काट्ने, वन्यजन्तु वा पक्षी मार्ने, तर्साउने गरेको पाइएमा कारबाही हुने जनाइएको छ।

जिल्लाका भूभागमध्ये लाङ्टाङ निकुञ्ज क्षेत्रको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा, ग्राङ्मर, सिङ्वन्दी, चोरेचो, संयुल, लोकिल, कालिका गाउँपालिकाअन्तर्गत लोकिल, राम्चे, ग्राङ, गुम्वुडाँडा, स्याउबारी, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत ठाडे, धुञ्चे, नागुङ, चन्दनबारी, भार्खु, ठुलोस्याफ्रु, बृद्विम, लाङ्टाङ, टिमुरेको खैदीसमेतका क्षेत्र जाडोले प्रभावित हुने गरेको बताइएको छ।

यसैगरी डिभिजन वन कार्यालयको इलाका क्षेत्रमध्ये उत्तरगया गाउँपालिकाको तिरू, आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, ग्रे, स्यो, गोल्जुङ, गतलाङ, तातोपानी, सिम्बु, टेचाङ्चे गोसाइँकुण्ड गाउँपालिकाको थुमन तथा नाकथलीसमेतका स्थान हिमपात एवं जाडो प्रभावित क्षेत्र भएको सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।