मंगलबार चन्द्रग्रहणः भरणी नक्षत्र र मेष राशिलाई कष्ट, अन्य राशिलाई कस्तो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कात्तिक २२ गते मंगलवार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ।

यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।

कात्तिक २२ गते बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो। बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ।

बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ। बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।

कात्तिक २२ गते मङ्गलबार बिहान ०८:११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए। ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ।

यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो। यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ। औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।