काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा दोब्बरले वृद्धि भएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा खुद नाफा १०१.९८ प्रतिशतले बढेको हो ।
लघुवित्तले चालु आवको असोज मसान्तसम्म ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड बढी हो । गत वर्षको पहिलो त्रैमासमा लघुवित्तले १ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य सुधार भएसँगै लघुवित्तको नाफा दोब्बरले बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशत बढेर ७ करोड ६५ लाख रुपैयाँ पुगेको छ । यस्तै, संचालन मुनाफा ११२.८८ प्रतिशतले बढेर ५ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब ४१ करोड सापटी लिई ६ अर्ब ३५ करोड कर्जा लगानी गरेको छ । हाल ८० करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा ११ करोड ९५ लाख र रिजर्भ कोषमा ९ करोड ७४ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ३ करोड १० लाख रुपैयाँ छ ।
खुद नाफामा उछाल आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानी झन्डै दोब्बरले पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १०.३४ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी चालु आवमा बढेर १८.९९ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२६.९६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.५९ गुणा, खराब कर्जा ०.६ प्रतिशत, बेसरेट १३.५ प्रतिशत रहेको छ ।
Comment