काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई भदौ ३१ गते (सेप्टेम्बर १६ तारिख) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।
आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर ६.५५ रुपैयाँ, डिजेल ४४ पैसा र हवाई इन्धन प्रतिलिटर १.५० रुपैयाँ घटेर आएको छ ।
नयाँ मूल्य अनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा हुने भएको छ भने डिजेलमा ५ रुपैयाँभन्दा बढी घाटा हुने निगमले जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ र डिजेलको १७८ रुपैयाँ रहेको छ ।
यसअघि लगातार ३ पटकसम्म मूल्य घटेर आउँदा पनि निगमले मूल्य समायोजन गरेको थिएन । स्वचालित मूल्य अनुसार भाउ घटबढ हुँदा सोही अनुसार समायोजन गर्नुपर्ने भए पनि निगमले विगतमा धेरै नोक्सानी व्यहोरेको भन्दै मूल्य समायोजन गरेको छैन ।
Comment