काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
गठबन्धनमा आबद्ध दलहरुबीच सिट बाँडफाँडमा सहमति जुट्न नसक्दा यसको टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले चुनावी तालमेल र सीट बाँडफाँडका विषयमा छलफल गरेको थियो। सीट संख्यामा लगभग सहमति भए पनि निर्वाचन क्षेत्रका विषयमा टुंगो लगाउन बाँकी रहेको कार्यदलका सचिव केशवराज जोशीले बताए।
कार्यदलले प्रतिनिधिसभा र प्रदेश सभाका सीट संख्यासँगै निर्वाचन क्षेत्रबारे पनि छलफल गरिरहेको छ। कुन निर्वाचन क्षेत्रमा कुन दलको उम्मेदवार उठाउने भन्ने विषयमा छलफल भएको जनाइएको छ।
२०७४ सालमा पाएको मत र स्थानीय चुनावको अवस्थालाई हेरेर कुन क्षेत्रमा कुन दल बलियो छ भन्ने एकीन गर्न लागिएको छ। त्यसकै आधारमा निर्वाचन क्षेत्र बाँडफाँड गरिँदै छ।
आज सीट बाँडफाँड टुंगो लगाउने गरी कार्यदलको बैठक बोलाइएको सचिव जोशीले बताए। उनका अनुसार आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्नेछ।
Comment