काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक सम्पूर्ण निजामती कर्मचारीमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरेका छन्।
‘सरकारको सबैभन्दा नजिकको संयन्त्रको रूपमा सरकारलाई नीति र कार्यक्रमको तर्जुमादेखि कार्यान्वयनसम्मका चरणमा निजामती सेवाले महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ। यसका लागि म सबै राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा भनेका छन्।
१९औं निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाउन लागिएको छ। २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो। सोही दिनको स्मरणमा विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आइएको छ।
राष्ट्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपालको निजामती सेवाको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुक राजनीतिक सङ्कटको अवस्थामा रहेको समयमा समेत राज्य सञ्चालनदेखि विकास निर्माण र सेवा प्रवाह कार्यलाई निरन्तरता दिँदै मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रसेवकले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास लिएका छन्।
‘निजामती प्रशासनले विभिन्न चुनौतीहरूका बाबजुद निरन्तर देश र जनताको सेवामा आफूलाई समर्पित गर्दै आएको छ। समयको परिवर्तनसँगै निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माणको कार्यलाई गति दिनुपर्ने खाँचो छ,’ प्रधानमन्त्री देउवाले भनेका छन्।
Comment