काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सुरक्षा गार्डलाई थुनामा पठाएको विषयमा आलोचित छन् । उनले शुक्रबार काठमाडौँको ठमेलस्थित भिएफएस ग्लोबलको सुरक्षामा खटिएका गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय शेरजंग गुरुङलाई आफूमाथि दुर्व्यवहार गरेको थुनामा पठाएका हुन् ।
शुक्रबार करिब ११ बजे पक्राउ परेका गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँले अभद्र व्यवहार मुद्दाअन्तर्गत पाँच दिनको म्याद थप गरेको छ । उनलाई अहिले दरबारमार्ग प्रहरीको हिरासतमा राखिएको छ ।
उनीमाथि भएको घटनालाई लिएर मन्त्री श्रेष्ठ आलोचित भएका हुन् । यहीबिच राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मन्त्रीको फुर्ती देखाएर अपराध गर्ने जीवनरामसँग प्रहरीले बयान लिनुपर्ने माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘पदको आडमा कसैमाथि हमला गर्नु प्रतिगमन र हिंसा हो । मन्त्रीको फुर्ती देखाएर एउटा श्रमजीवीलाई आफ्नो कम गर्न खोज्दा प्रहार गर्न खोज्नु अपराध हो । र यसको लागि मन्त्री जीवनरामसँग प्रहरीले बयान लिनुपर्छ ।’
Comment