रसुवामा प्रहरी र स्थानीयबीच झडप, आठ प्रहरी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसहित आठ सुरक्षाकर्मी घाइते भएका छन्।

गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच झडप भएको हो। आइतबार भएको झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन्।

आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि प्रहरीले रोक्न खोजेको थियो। त्यहि क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक प्रहरी निरीक्षक रहेका छन्। त्यस्तै, तीन जना सशस्त्र प्रहरी र तीन नेपाल प्रहरीका जवान घाइते भएका छन्।

साञ्जेन जलविद्युत्का आयोजना प्रमुख  र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशकसमेतका कम्पनी बोर्डका पदाधिकारीसमेतले स्थानीयवासीको माग बेवास्ता गरी  प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको उनीहरूले आरोप लगाएका छन् ।

स्थानीयवासीले सञ्जेन जलविद्युत्को थाम्बुचेतस्थित कार्यालय तथा ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलेक्स ६, लोडर दुई, ६ वटा मोटर साइकल अफिस, तथा टेबुल कुर्सीसमेत तोडफोड गरेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले अश्रु ग्यास र हवाई फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएको छ।

७५ लाख बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको यकिन तथ्याङ्क निकाल्ने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालले जानकारी दिए।

स्थिति नियन्त्रणको क्रममा पाँच गतलाङका बासिन्दा पक्राउ परेका छन्। यसरी पक्राउ पर्नेमा सागर तामाङ, राजनलामा, पूर्णबहादुर तामाङ, चन्द्रमान तामाङ र पासाङ छेवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साञ्जेन जलविद्युत् कम्पनीमा जिम्मेवार कर्मचारीले मात्र एकाधिकार निर्णय गरी आफूहरुलाई उपेक्षा गरेको गतलाङ्वासीको भनाइ छ। (रासस)

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।