काठमाडौं । चीनले सन् २०२२ का लागि नेपाललाई साढे १५ अर्ब रुपैयाँ (८० करोड चिनियाँ युआन) अनुदान सहायता घोषणा गरेको छ।
चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. नारायण खड्कासँगको वैठकमा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले यस्तो घोषणा गरेको बेइजिङस्थित नेपाली दूताबासले जानकारी दिएको छ ।
बुधबार छिङताओमा दुई पराष्ट्र मन्त्रीवीच भएको प्रतिनिधिमण्डलसहितको वैठकमा चीनले विगतमा गरिएको सम्झौता एवम् चीनले नेपालमा सञ्चालन गरिरहेका परियोजनाको कार्यान्वयनका लागि प्रतिवद्धता पनि व्यक्त गरेको छ ।
काठमाडौंको चक्रपथको कलंकीदेखि नारायण गोपाल चोकसम्मको सडक विस्तारको काम शीघ्र शुरु गरिने, केरुङ–काठमाडौं रेलवेको संभाव्यता अध्ययन चीनले अनुदानमा गरिदिने र नेपाल–चीन सीमापार प्रशारण लाइनको पूर्व संभाव्यता अध्ययन गर्न सहयोग गर्ने जस्ता विषयमा चीनले सहमति जनाएको हो ।
यसका साथै, चीनले नेपालमा रसायनिक मल कारखाना स्थापना गर्न सहयोग गर्ने र हालका लागि मलको आपूर्ति गरिदिने कुरामा पनि सकारात्मक धारणा राखेको छ । वाङले नेपालको कृषि क्षेत्रको विकासमा सघाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । नेपाली चिया तथा परम्परागत औषधीय जडिबुटीको उत्पादन र निर्यातमा सहयोग गर्ने पनि उनको भनाइ छ ।
सो वैठकले तातोपानी–केरुङ र रसुवागढी–जाङ्मु सुख्खा बन्दरगाहहरुलाई दुईतर्फी र हिल्सा–पुलाङ बन्दरगाहलाई एकतर्फी व्यापारका लागि चाँडै खोल्ने सहमति पनि गरको छ । तिब्बतमा कोरोनाभाइरसको हालको महामारी वेभ नियन्त्रणमा आएसँगै यी नाकालाई सक्रिय बनाउने सहमति भएको हो ।
यसबाहेक चीनले विपदमा सहायता दिनका लागि रु. ५ करोड ६७ लाख र व्यवस्थापन तथा औषधीका लागि रु. ३ करोड ७८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । यो सहयोग नेपालको अनुरोधमा दिइन लागेको हो ।
बैठकमा डा. खड्काले नेपालको एक चीन नीतिप्रतिको प्रतिवद्धता दोहो¥याएका थिए भने वाङले नेपालको सार्वभौमसत्ताको रक्षा र विकासमा चीनले सघाउने बताएका थिए । महामारीका कारण नेपालमै अड्किएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्कालै फर्काउने बारेमा पनि सहमति भएको छ ।
Comment