पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि, निगमलाई पाक्षिक ४ अर्ब ७१ करोड नोक्सान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ ।

नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन (आन्तरिक)मा २ रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा छ ।

खरिद मूल्य बढेसँगै आगामी १५ दिनमा करीब ४ अर्ब ७१ करोड घाटा हुने निगमको प्रक्षेपण छ । हवाई इन्धन (बाह्य) र मट्टितेलमा सामान्य नाफा रहेको निगमले जनाएको छ ।

नयाँ खरिदमूल्यमा विभिन्न शीर्षकको कर थप्दा पेट्रोलको खरिद लागत प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा, डिजेलको २०२ रुपैयाँ १६ पैसा, मट्टितेलको १४७ रुपैयाँ ९९ पैसा, हवाई इन्धन (आन्तरिक) को १६८ रुपैयाँ ७० पैसा, हवाई इन्धन (बाह्य)को प्रतिलिटर १४७ रुपैयाँ ८९ पैसा र एलपी ग्यासको प्रतिसिलिण्डर २ हजार ५५१ रुपैयाँ १५ पैसा पुगेको छ ।

नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रूपमा पेट्रोलमा ९५ करोड, डिजलमा दुई अर्ब ९१ करोड, हवाई इन्धन (आन्तरिक) मा ६६ लाख र खाना पकाउने एलपी ग्यासमा एक अर्ब १४ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ । यस्तै मासिक पेट्रोलियम पदार्थमा नौ अर्ब ६३ करोड रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उकालो लाग्दै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन पेट्रोलियम पदार्थको खुद्रा बिक्री लागत मूल्य सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको निगमले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।