काठमाडौं ।सत्तारुढ गठबन्धनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलि (सोमबार) सम्म टुंगो लगाउने भएको छ।
प्रधानमन्त्रधी निवास बालुवाटारमा आज (आइतबार) बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले भोलिसम्म सबै महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले फेसबुकमार्फत जानकारी दिएका छन्।
भोलि बस्ने बैठकमा सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय पनि बैठकले गरेको छ। गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाएको थियो।
‘वालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने, बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको छ,’ मल्लले फेसबुकमा लेखेका छन्।
महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा केन्द्रबाटै गर्ने गठबन्धनको सहमति भइसकेको छ। तर कसकसलाई कहाँकहाँ भन्ने टुंगाे लाग्न बाँकी छ।

Comment