प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्धको खोपको शुभारम्भ,७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरूद्ध खोप अभियान शुभारम्भ गरेका छन्। देउवाले विहीवार बिहान दरबार हाई स्कुल रानीपोखरीमा कार्यक्रमको उद्घाटन गरि खोप अभियान सुरूवात गरेका हुन्।

यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ। १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो।

साथै प्रदेशहरूमा पनि टाइफाइडविरूद्ध खोप अभियान आज नै सुरू गरिएको छ। मुख्यमन्त्रीहरूले विभिन्न विद्यालय पुगेर खोप अभियान सुरूवात गरेका छन्।

यो अभियान आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म चल्ने जनाएको छ। १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिनेछ ।

२४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकासम्म पुग्ने लक्ष्य राखेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ महिनादेखि १५ वर्षसम्मका बालबालिका मुलुकभरमा ७४ लाख १५ हजार १ सय ६३ जना छन् ।

सबैभन्दा बढी मधेस प्रदेशमा १७ लाख ८७ हजार ८ सय ६५ जना र सबैभन्दा कम कर्णालीमा ५ लाख ३ हजार ९ सय ९५ जना छन् । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा बर्सेनि करिब ४ लाख ५० हजार जना टाइफाइडबाट संक्रमित हुने गरेका छन् ।

तीन वर्षयताको तथ्यांकअनुसार टाइफाइड प्रदूषित पानी र खानेकुराले हुने संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने बिरामीमा चौथोमा पर्छ ।

बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार पाटन एकेडमी अफ हेल्थ साइन्सेजले गरेको एक अध्ययनमा प्रति १ लाख जनसंख्यामा १ हजार ६२ जनामा टाइफाइडको संक्रमण देखिएको थियो ।

सामान्यतया दूषित खाना वा पानीबाट सर्ने टाइफाइड ज्वरो ‘साल्मोनेला टाइफी’ भनेर चिनिने ब्याक्टेरियाले गर्दा हुने संक्रमण हो ।

टाइफाइडको संक्रमण भए लामो समयसम्म चर्को ज्वरो आउने, थकाइ लाग्ने, टाउको र पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने हुन्छ । कतिपय बिरामीको शरीरमा डाबर देखिन सक्छ ।

कसले लगाउन हुँदैन्

विगतमा कुनै खोप लिँदा गम्भिर प्रकारको प्रतिक्रिया देखा परेका, कुनै खाना वा बस्तुवाट कुनै एलर्जी भएका र एडस्को लक्षण देखा परेका व्यक्तिलाई खोप नलगाउन अनुरोध गरेको छ । उच्च ज्वरो आएमा वा सिकिस्त बिरामी भएमा ठिक भएपछि खोप लगाउन सकिने उल्लेख गरेको छ ।

तर साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्नेछ ।

खोप लगाएपछि कस्ता असर देखिन सक्छन् ?

टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य (सूई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने आदि) असर हुनसक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफैं ठीक भएर जान्छन् ।

खोप लगाएपश्चात यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।