लुम्बिनी क्षेत्रको विकासमा लाग्नूहोस : मन्त्री आले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।

लुम्बिनी विकास कोषले बुधबार मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उनले लुम्बिनी क्षेत्रको विकासका लागि तत्काल खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

उनले भने, ‘तपाईहरूको पाँचवर्षे कार्यकाल छ, आफ्नो कार्यकालभित्र लुम्बिनी क्षेत्रको विकास गर्नुस् ।’ मन्त्री आलेले आउँदै गरेको बुद्ध जयन्तीलाई भव्य तथा सभ्य रूपमा सफल पार्नका लागि एकजुट भएर लाग्न सबै पदाधिकारी र कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘बुद्ध जयन्तीका लागि सबै जुटौं, देश विदेशबाट जति सक्दो बढी बुद्ध धर्मावलम्बी तथा पर्यटकलाई भित्र्याउनका लागि प्रचारप्रसारमा लाग्नुस्, मैले गर्नुपर्ने सहयोग म गर्न तयार छु ।’

मन्त्री आलेले नवनियुक्त पदाधिकारीलाई शुभकामना तथा बधाई दिदै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । अहिलेसम्म लुम्बिनी विकास कोषअन्तर्गत ८१ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्नका लागि जति लाग्छ, त्यसको लागत स्टिमेट ल्याउन र एकै चोटि काम सम्पन्न गर्ने गरी बहुवर्षीय प्रक्रियाबाट काम अगाडि बढाउने गरी काम गर्न उनले आग्रह गरे ।

मन्त्री आलेले लुम्बिनी क्षेत्रमा हाल भइरहेका कामहरु क्वालिटी योग्य भएको आफूले अनुगमनका क्रममा पाएकाले सोहीअनुसार अन्य काम पनि अगाडि बढाउन निर्देशन दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।