कोमल वलीसहित राष्ट्रियसभाका २० सदस्यको पदावधि आजबाट सकिँदै, को-को हुँदैछन् बिदा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आज शुक्रबारबाट सकिँदैछ। ४ असार २०७५ मा गोला प्रथाबाट चार वर्ष कार्यकाल तोकिएका सांसदको अवधि आज सकिएको हो।

आज पदावधि सकिनेमा राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल पनि छन्। अब सभाका सदस्यमध्येबाट एकजना उपाध्यक्ष चयन हुनेछन्।

गत १२ माघमा सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट १९ जना सांसद निर्वाचित भइसकेका छन्। उनीहरूको शनिबार पद तथा गोपनियताको शपथ हुँदैछ।

चार वर्षे कार्यकाल सकिन लागेका राष्ट्रियसभा सांसदहरूमा नेकपा (एमाले)का अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल छन् भने नेकपा (एकीकृत समाजवादी)का उदया शर्मा पौडेल, ठगेन्द्रप्रसाद पुरी, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर छन्।

नेपाली कांग्रेसका दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी, नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशिकला दाहालको पनि कार्यकाल सकिएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारीको पनि कार्यकाल सकिएको छ।

शनिबार गोपालकुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा, जयन्ती देवी राई, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त, भुवनबहादुर सुनार, सुरेश आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह, जगदबहादुर पार्की र नारायणदत्त मिश्रले शपथ ग्रहण गर्दैछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।