काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको लिमिटेडको प्राथमिक साधरण सयेर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।
बुधबारदेखि विक्रीमा आएको कम्पनीको आइपीओमा तीन दिनमै साढे ४० गुणा बढी आवेदन परेको हो ।
सीडीएससीका अनुसार शुक्रबार अपराह्न ५ बजेसम्म कम्पनीको आइपीओमा १८ लाख २ हजार १८२ जनाले २ करोड ९ लाख ६९ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् ।यो मागभन्दा ४०.५८ गुणा बढी हो।
कम्पनीले माघ २६ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर विक्रीमा ल्याएको छ ।निष्काशित कुल सेयरमध्ये ११ हजार ११२ कित्ता कम्पनीका कर्मचारी र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।
कम्पनीको आइपीओमा फागुन १ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाउने छन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम रहेको जनाउँदछ ।
कम्पनीमा नेपाल सरकारसहित ठूला व्यापारिक घराना विशाल ग्रुप, चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा, पशुपति मरारका लगायत व्यवसायिको मुख्य लगानी रहेको छ ।
कम्पनीको राष्ट्रिय प्राथमिकताका क्षेत्रअन्तर्गतका पूर्वाधारको विकास, यातायात, सञ्चार, ऊर्जा, पर्यटन, उद्योग, स्वास्थ्य, कृषि, वित्तीय र अन्य आर्थिकरूपमा महत्व भएका योजनामा लगानी गर्ने उद्देश्य छ ।
हाल ५० करोड ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ विक्रीपछि ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ।
Comment