काठमाडौं । सरकारले अब कोरोना भाइरस विरुद्धको खोप एकै व्यक्तिले पनि फरक-फरक लगाउन सक्ने गरी नयाँ निर्देशन जारी गरेको छ।
यसअघि पहिलो र दोस्रो डोज मात्र होइन अतिरिक्त मात्रा (बुस्टर डोज) समेत एउटै लगाउनु भन्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पहिलो डोज जुनसुकै लगाए पनि दोस्रो र बुस्टर डोज क्रस गरेर लगाउन अनुमति दिएको हो।
अहिले ज्येष्ठ नागरिक बुस्टर डोजको पर्खाइमा छन्। ६० वर्ष माथिका धेरै ज्येष्ठ नागरिकले भेरोसेल खोपको पूर्ण मात्रा लगाएका हुनाले अहिले बुस्टर डोजमा त्यसैको माग बढी छ। तर सरकारसँग भेरोसेल खोप छैन।
त्यसैले सरकारले अब भेरोसेल लगाएर बुस्टर डोज पर्खिरहेकालाई कोभिशिल्ड वा अस्ट्राजेनिका खोप दिन ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।
निर्देशन अनुसार अब पहिलो र दोस्रो मात्रा कोभिसिल्ड वा भेरोसेल, फाइजर मोडर्ना वा अस्ट्राजेनिका जे खोप लगाएको भए पनि ६० वर्ष माथिकालाई (बुस्टर डोज) लगाउँदा कोभिसिल्ड वा अस्ट्राजेनिका खोप दिने भनिएको छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दुई साताअघि आफैंले गरेको निर्णय परिवर्तन गरी नयाँ निर्देशन जारी गरेको हो । यस्तै विदेशमा कोभिसिल्ड, भेरोसेल, मोडर्ना वा फाइजर खोप लगाएको भए पनि दोस्रो डोज कोभिसिल्ड वा अस्ट्राजेनिका दिने भनिएको छ ।
क्रस गरेर खोप लगाउनु कति सुरक्षित ?
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका अनुवांशिक विज्ञ डा. गिरिराज त्रिपाठीका अनुसार क्रस गरेर खोप लगाउँदा झन् राम्रो हुने बताउँछन्।
एक पटक खोप लगाइसकेपछि एन्टीबडी बनाउने कोषिकालाई पुनः सक्रिय बनाउन बुस्टर डोज लगाइन्छ। यसरी बुस्टर डोज लगाउँदा फरक खोप लगाए बढी प्रभावकारी हुने उनले बताए।
‘केही प्रारम्भिक अध्ययनले पनि क्रस गरेर खोप लगाउँदा झन् प्रभावकारी हुने देखिएको छ। उनले भने, ‘अर्को कुरा हाम्रोमा हाल आएका खोपहरू सबै एउटै फर्मुलामा बनेको हुँदा फरक खोप लगाउँदा खासै असर गर्दैन, ढुक्क भएर क्रस गरेर खोप लगाउँदा हुन्छ।’
कोभिसिल्ड/जोन्सन/अस्ट्राजेनिका खोप लगाएका व्यक्तिले फाइजर/मोडर्ना लगाउन मिल्ने समेत उनले बताए। उनका अनुसार बाहिरी मुलुकले पनि फरक खोप नै बुस्टर डोजको रुपमा प्रयोग गरिरहेका छन।
यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले पनि क्रस गरेर खोप लगाउँदा खासै असर नपर्ने बताए।
Comment