काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
संविधान र स्थानीय तह निर्वाचन ऐनले एक दिनपनि जनप्रतिनिधिविहीन स्थानीय तहको परिकल्पना नगरेको उल्लेख गर्दै दुई वटा महासंघ र एक संघले संयुक्त रूपमा साेमबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।
स्थानीय तहको कार्यभार प्रदेश वा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्न नसक्ने भएका कारण निर्वाचन प्रक्रियालाई चाँडो अघि बढाउनुपर्ने महासंघ र संघले माग गरेका छन् ।
स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमश २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिने भएकोले दोस्रो कार्यकालका लागि निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कुनै कारणवस समयमै निर्वाचन हुन नसकेको खण्डमा संविधान नै संकटमा पर्ने भएकाले निर्वाचन प्रक्रियालाई तत्काल अघि बढाउन जरुरी रहेको बताइएकाे छ ।


Comment