रोशनको ‘चिरिएका पैताला’ बजारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । युवा कवि रोशन तिमिल्सिनाको नवीनतम कविता कृति चिरिएका पैताला सार्वजनिक भएको छ । सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाको आयोजनामा पोखरास्थित हिमालयन रिडर्स कर्नरमा सम्पन्न एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ साहित्यकार सरूभक्तले कविता कृतिको विमोचन गरेका हुन् ।

सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाका अध्यक्ष शम्भु अर्यालको अध्यक्षता, बिम्ब कवि तथा प्राज्ञ रमेश श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. भूमिराज बस्ताकोटीले कृतिमाथि टिप्पणी गरेका थिए । कार्यक्रममा बोल्दै डा. बस्ताकोटीले रोशनका केही कविता अत्यन्त शक्तिशाली भएको र निरन्तर साधना गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्राज्ञ रमेश श्रेष्ठले नयाँ पुस्ताका कवि यसरी आउनु पोखराको गौरव रहेको कुरा व्यक्त गरे । अग्रज सरुभक्त र नवपुस्ताका कवि रोशनलाई पोखराले जोडिरहेको कुरालाई जोड दिँदै चिरिएका पैतालाले सगरमाथा चढिरहेको बताए । 

कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले रोशनको खुलेरै प्रशंसा गरे । चिरिएका पैतालाको अंश लिँदै उनले भने, ‘वर्षौंदेखि दौडिरहेको युग, आज रोकिएको छ पैताला चिरिएर ।’ “यो पो कविता हो, सुन्दर पक्ष हो । रोशनको कवितामा नै सुन्दर भविष्य छ ।”

सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाकी सदस्य तथा कवि टुकादेवी आचार्यले कार्यक्रमबारे प्रकाश पारिन् । कार्यक्रमको सञ्चालन शाखाकी सचिव एवम् कवि लिली अधिकारीले गरेकी थिइन् भने कवि परिविक्रमले पुस्तकबाट कविता गरेका थिए ।

कलम प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मूल्य २५० रुपैयाँ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।