२ करोड बढीको चेक फिर्ताको विषयमा एसएसपी सिंहमाथि छानबिन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंहमाथि छानबिन गर्न समिति गठन गरेको छ ।

डीआइजी राजेशलाल कर्णको संयोजकत्वमा समिति गठन गरिएको प्रहरी हेडक्वार्टर स्रोतले जनाएको छ । समितिमा कर्णसँगै एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ छन् ।

प्रहरी हेडक्वार्टरले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखिएको र त्यसमा एसएसपी सिंहको मिलेमतो रहेको भन्दै उजुरी परेपछि छानबिन समिति गठन गरेको हो । हराएको ७ थान चेकमा विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको भन्दै सिन्धुलीका राजकुमार बरालले गृह मन्त्रालयमा पुस ९ गते उजुरी दर्ता गराएका थिए ।

घटना के थियो?

२२ असोजमा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेले। त्यहाँ आफूलाई बोलाएर मदिरामा अखाद्य वस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले भोलिपल्ट प्रहरीमा उजुर गरेका थिए।

तत्कालिन काठमाडौं प्रहरी प्रमुख सिंहले चेक चोरेको आरोप लागेका भेटवालालाई बोलाएर चेक फिर्ता लिएर आफैँ राखेको आरोप लागेको छ। ‘९९ आना’को सिसिटिभी फुटेज हेर्दा बरालको चेक भेटवालले भरेको प्रहरीको दाबी छ।

जुवा खेलेको र खेलाएको फुटेज प्रमाण भए पनि एसएसपी सिंहले मुद्दा अघि बढाउन अस्वीकार गरेर लामो समय चेक आफैँसँग राखेर काठमाडौं प्रहरी प्रमुखबाट विदा हुने बेलामा आरोपी भेटवाललाई बोलाएर २ करोड २९ लाखको चेक फिर्ता गरेको आरोप छ।

भेटवाललाई चेक फिर्ता गरेको भन्दै बरालले गृह मन्त्रालयमा उजुरी दिए। त्यसपछि गृह मन्त्रालयले प्रधान कार्यालयलाई पत्राचार गरेर घटना छानबिनका लागि अनुसन्धान गर्न निर्देशन दिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।