काठमाडौं । सोमबार गुडिरहेको गाडीको सिटमै एक यात्रुको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको मृत्यु भएको हो।
राप्ती राजमार्गअन्तर्गत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्जका लागि जाँदै गरेको बा प्र–०१००६–ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा वली मृत्यु भएको हो।
सँगै यात्रा गरिरहेका वलीको मृत्यु भइसकेको कुरा गाडीभित्रका कसैले पनि थाहा नपाएको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ।
प्रहरीका अनुसार सल्यानको बागचौर नगरपालिका–२ थारमारेमा पुगेर गाडी रोकिएपछि मात्रै वलीको मृत्यु भएको कुरा अरू यात्रुले थाहा पाएका हुन्।
वली हायस गाडीको अगाडिको सिटमा एक्लै बसेका थिए। जतिबेला टोपी लगाएर थोरै घोप्टो परेर बसेको अवस्थामा रहेको हुँदा कसैले पनि मृत्यु भएको होला भन्ने अन्दाज नै गरेका थिएनन्।
हायस गाडी खाजा खान रोकेको बेला वलीको मृत्यु भएको थाहा भएको हो। खाना खाएर सकेपछि भतिजी नाता पर्ने महिलाले बोलाउन खोज्दा नबोलेपछि उनको निधन भइसकेको थियो।
सिटमै बसेको अवस्थामा फेला परेका वलीको एउटा हात घुँडामा र अर्को हात कम्मरको साइडमा रहेको तथा अलिकति घोप्टो परको हुँदा अन्य यात्रुले सुतेको ठानेका थिए।
यता नाता पर्ने भतिजीले वली अल्सरको बिरामी रहेको प्रहरीलाई जानकारी दिएकी छिन्। घटनास्थलमा प्रहरी पुगेर मुचुल्का तयारी पारी वलीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलंगापठाइएको छ।
वली रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–१२ नुवाकोटमा तिहारको टीका लगाउन गएका थिए। त्यहाँबाट फर्किदै गर्दा वलीको यात्राकै क्रममा मृत्यु भएको हो।
Comment