माधव नेपालले भने -१० बुँदे सहमतिमा ओली पक्षको व्याख्या अस्वीकार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले गरेको १० बुँदे सहमति र त्यसमा गरिएको व्याख्या अस्वीकार्य भएको बताएका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार राति फेसबुकमा लेख्दै एमालेका २३ जना सांसदले प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिने सहमति भएको जनाएका थिए। त्यसलाई लिएर वरिष्ठ नेता नेपालले असहमति जनाएका हुन्।

त्यसको विरोध गर्दै वरिष्ठ नेता नेपालले भनेका छन्, ”हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ। यो व्याख्या गलत र अस्वीकार्य छ।”

गएराति नै नेपालले फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी कुनै सहमित नहुने बताएका छन्। उनले भनेका छन्, ”अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या  मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु।”

एमाले कार्यदलले तयार गरेको सहमतिको बुँदा नं.६ अदालतमा बुझाएको हस्ताक्षरलाई समेटिएको छ। त्यसमा भनिएको छ, ”प्रतिनिधि सभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्नेछौं।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।