काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा आफूले निभाएको भुमिकालाई सरकारले अवमूल्यन गरेको गुनासो गरेका छन् ।
मङ्गलवार संवाददातासँग कुरा गर्दै नेता महतले आजभन्दा १० वर्ष अगाडि आफू ऊर्जा मन्त्री भएको बेलामा आफ्नै पहलकदमीमा माथिल्लो तामाकोशीको काम सुरु भएको भए पनि सरकारले यसको निर्माणको स्वामित्व केवल आफूले मात्रै लिएको बताए ।
तत्कालीन अवस्थामा आफूले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द गरेर नेपाली सेनालाई काम गर्ने जिम्मा दिएको बताए ।
त्यो बेलासम्म यसको लगानी कसले गर्ने पनि अनिश्चित थियो । त्यहाँको बाटो नै जोडिएको थिएन । बाटो नबनिकन ठेक्का लगाउने कुरा भएन ।
ठेकेदारहरुलाई बाटो बनाउन दिइएको थियो, तर उनीहरुले वर्षौं लट्काइरहेका थिए । मैले नै ठेक्का क्यान्सिल गराएर आर्मीले टेकओभर गरी बाटो जोडेपछि ठेक्का लगाउने परिस्थिति बनेको हो ।’
उनले आफ्नै पहलमा सरकारबाट ११ अर्ब लगानी गर्ने निर्णय गराएको बताए । नेपाल टेलिकम, नेपाल सञ्चय कोष र नागरिक लगानी कोषको संयन्त्र जोडेर त्यतिबेला ३४ अर्वको लागत अनुमान गरिएको उनले जानकारी दिए । पछिल्लो समयमा यसको निर्माणमा मिलेमतो, ढिलासुस्ती गर्दा समयमै काम सम्पन्न हुन नसकेको उनको भनाइ छ ।
यसको लागत ४८/५० अर्ब भन्दा बढी नजाने भए पनि ढिलासुस्ती र मिलेमतो लगायतका कारणले लागत बढाइएको नेता महतले बताए ।
आफूले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कामलाई शुरु गरी योगदान गरेको भएपनि त्यसको मुल्यांकन नभएको उनको गुनासो छ ।
Comment