अरुलाई आफ्नो व्यक्तिगत विवरण नदिन बैंकर्स संघको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंकर्स संघले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको छ। 

सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको भन्ने व्यापक गुनासो आएपछि नेपाल बैंकर्स सङ्घले कुनै पनि व्यक्तिगत विवरण तथा बैंक खाताको सुरक्षा गर्न सबैमा आग्रह गरेको हो ।

सङ्घले पछिल्ला दिनमा विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग गर्ने गरेको पाइएको भन्दै नागरिकलाई सचेत गराएको छ ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई रकम पठाउनका लागि भन्दै खाता/व्यक्तिगत विवरण माग गर्ने गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले आफ्नो गोप्य विवरण कोही कसैलाई पनि नदिन अनुरोध गरेको हो ।

आपराधिक मनोवृत्तिका व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरणहरु माग्ने गरेको सङ्घको बुझाइ छ । त्यस्ता व्यक्तिले खाता नं, मोबाइल नं, विद्युतीय कारोवारमा प्रयोग हुने ओटिपी प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप गरिरहेका छन् । व्यापकरुपमा त्यस्ता गतिविधि भइरहेको जानकारी आएकाले सजग रहन सङ्घले सबैलाई आग्रह गरेको उल्लेख गरेको छ ।

सहयोगका नाममा आउने त्यस्ता फोन कल वा कारोबारको शङ्का लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न पनि सङ्घले अनुरोध गरेको छ । सजगताका साथ डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न ग्राहकलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।