काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा भावी नेतृत्वका लागि नेताहरुबीच छलफलले तिब्रता पाएको छ।
सभापति शेरबहादुर देउवाले सातै प्रदेशका आफू निकट नेताहरुसँग छलफल सकेका छन् भने वरिष्ठ नेता पौडेलले शुक्रबारमात्र आफू निकट नेताहरुसँग सुझाव मागे। उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच दुई पटक छलफल भइसकेको छ। तेस्रो पटक छलफल सिंह निवासमा गर्ने तय भएको छ। भदाै १६ देखि १९ सम्म महाधिवेशन हुँदैछ।
काँग्रेसमा भइरहेका पछिल्ला यी छलफलहरुले काँग्रेसलाई रुपान्तरण गर्ने मुद्दा जबरजस्त रुपमा अगाडि आउने देखिएको छ। काँग्रेसमा १३ औं महाधिवेशनपछि तीनवटा गुट सक्रिय छन्। सभापति देउवा नेतृत्वको गुट, वरिष्ठ नेता पौडेल अगुवाईको गुट र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको गुट। १३ औं महाधिवेशनपछि पर्दामा देखिएका यी गुट अहिलेसम्म सक्रिय देखिए पनि महाधिवेशनको मिति नजिकिएसँगै भत्किने संकेतहरु पनि देखिएका छन्।
देउवा, र पौडेल दुबैले गरेका आफू निकट छलफलहरुमा एउटा कुरा समानता देखिएको छ। त्यो हो, देउवा र पौडेलको विकल्पमा जाने सुझाव। विद्यार्थी राजनीतिदेखि नै देउवासँग निकट रहेका उपसभापति विमलेन्द्र निधिले आफू सभापति लड्ने भन्दै देउवाको सहयोग बुढानिलकण्ठ बैठकमै मागे।
जबकी त्यो बैठकमा देउवाले आफू सभापति लड्ने भन्दै सहयोग गर्न बोलाएका थिए। देउवाले बोलाएकै बैठकमा निधिले आफू उम्मेदवार बन्ने बताएर देउवा गुटमा पनि देउवाको विकल्पको खोजी भएको सन्देश निधिले दिएका छन्।
शुक्रबार दियालो होटलमा भएको पौडेल निकट नेताहरुको भेलामा पनि पौडेलले आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोग मागे। तर, उनी निकट नेताहरुले सहयोग गर्ने स्पष्ट बचन दिएनन्। बरु विकलपका लागि तयार रहन सुझाए। र आफूखुशी उम्मेदवारी घोषणा गर्नुभन्दा टिम बनाएर आउन सुझाव दिए।
शुक्रबारको बैठकबारे जानकारी दिँदै केन्द्रीय सदस्य गुरुराज घिमिरेले एक्ट प्रो नेपालसँग भनेका छन्, ‘हामीले उहाँलाई (पौडेल) २ वटा विकल्प दिएका छौं। एक आफ्नो नेतृत्वमा सबैलाई समेटेर सहमतिका साथ टिम बनाउने, दुई आफू अभिभावक भएर अरुलाई उम्मेदवार बनाउने।’
उता देउवा गुटमा पनि निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिको आकांक्षा देखाएपछि देउवाको विकल्पको खोजी भएको देखिएको छ भने पौडेल समूहमा त सभापतिका आधा दर्जनभन्दा धेरै आकांक्षी छन्। त्यसैले अहिले काँग्रेसमा देउवा र पौडेलको विकल्पको खोजी भएको चर्चा हुन थालेको छ।
दुबै गुटमा अगुवाको विकल्पको खोजी भएपछि पुरानो गुट भत्किने संकेतहरु देखिएका छन्। सिटौला निकट मानिएका केन्द्रीय सदस्य प्रदीप पौडेलले परम्परागत गुट भत्किने र आवश्यकता अनुसार नयाँ गुट बन्ने बताएका छन्। उनले अब १३ औं महाधिवेशनको अवस्थाभन्दा परिस्थिति निकै फरक बनिसकेको उनको भनाइ छ।
पौडेलको भनाइलाई केन्द्रीय सदस्य घिमिरेको भनाइले पनि बल मिलेको छ। उनले एक्ट प्रो नेपालसँग भनेका छन्, ‘यदि वरिष्ठ नेताले हामीले दिएका दुबे विकल्प अनुसार काम गर्न सक्नु भएन भने हामी युवा नेताहरु आआफ्नो तरिकाले अगाडि बढ्छौं पनि भनेका छौं।’ पौडेलले टिम बनाउँदा युवाहरुलाई नसमेटे र सहमतिमा टिम नबने अहिले पौडेल निकट रहेका युवा नेताहरु सो समूहमा नरहने उनको संकेत हो।
काँग्रेसमा हाल देउवा, पौडेल, निधि, सिंह, शशांक, शेखर कोइराला, सुुजाता कोइराला, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, डा. रामशरण महत, कृष्णप्रसाद सिटौला र कल्याण गुरुङ सभापतिका आकांक्षी देखिएका छन्। महाधिवेशनमा पहिलो चरणको चुनावमा आधा दर्जन उम्मेदवार हुन सक्ने काँग्रेस नेताहरुकै विश्वास छ। काँग्रेसको विधान अनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ। त्यसैले पहिलो चरणमा कसैले ५० प्रतिशत मत ल्याउन नसके सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिष्पर्धा हुन्छ।
आधा दर्जन उम्मेदवार भए अहिलेको अवस्था अनुसार कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत ल्याउने अवस्था देखिँदैन। तर, देउवा सबैभन्दा बढी मत ल्याउन सफल हुने देखिन्छ। किनकी उनको समूहमा रहका निधि र श्रेष्ठले बाहेक सबैले सभापतिमा देउवालाई सहयोग गर्ने बचन दिइसकेका छन्। अन्तिममा श्रेष्ठले पनि देउवालाई सहयोग गर्ने आकलन छ। त्यसैले देउवाले सबैभन्दा धेरे मत ल्याउने आकलन छ।
Comment