काठमाडौं । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई १२ बुँदे सर्कुलर गर्दै कानुन विपरितका गतिविधिमा कडाइ गर्न निर्देशन दिएको छ।
नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै उक्त निर्देशन दिएको हो ।
पदभार ग्रहणपछि गृहमन्त्री अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका थिए । मन्त्री अधिकारीको निर्देशन अनुसार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको हो । परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित विकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ ।
यस्तै जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै निषेधाज्ञामा बन्द रहेका आर्थिक गतिविधि सुचारु गर्ने खाका पेश गर्न भनिएको छ भने निषेधाज्ञालाई समीक्षा गर्दै आर्थिक कारोबार क्रमशः खुलाउँदै लैजाने गरी अवधारणा ल्याउन भनिएको छ । परिपत्रमा सीमा सुरक्षा र व्यवस्थापनलाई पनि कडाइका साथ पालना गर्न भनिएको छ ।
Comment